दफा १७६
स्वार्थ बाझिने मुद्दा हेर्न नहुने
(१) न्यायाधीशले देहायका मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न हुँदैनः–
(क) आफ्नो वा आफ्नो नजिकको नातेदारको हक हित वा सरोकार भएको मुद्दा,
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले अपुताली परे खान पाउने नाताको ब्यक्ति वा मामा, माइज्यू, सानी आमा, ठुली आमा, सानु बाबु, ठुला बाबु, सासू, ससुरा, फुपू, फुपाजु, जेठान, साला, जेठी सासू, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइ, छोरी ज्वाइ, भाञ्जा, भाञ्जी, भाञ्जी ज्वाइ, भाञ्जी बुहारी, आमाका बाबु, आमाकी आमा वा त्यस्तो नाता पर्ने ब्यक्तिको परिवारको सदस्य सम्झनु पर्छ ।
(ख) कुनै बखत आफू वारिस, कानून व्यवसायी वा साक्षी भएको मुद्दा,
(ग) आफूले न्यायाधीशको हैसियतमा कुनै अदालतमा निर्णय गरेको वा अन्तिम आदेश गरेको मुद्दा,
(घ) कुनै बखत आफूले मुद्दा चल्ने वा नचल्ने विषयमा राय दिएको मुद्दा,
(ङ) अन्य कुनै कारणले आधारभूत रुपमा आफ्नो र आफ्नो एका सगोलका परिवारका सदस्यको स्वार्थ गाँसिएको मुद्दा ।
(२) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएकोमा न्यायाधीशले मुद्दा हेर्न नहुने कारण खुलाई आदेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) को प्रतिकूल हुने गरी कुनै न्यायाधीशले कुनै मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्न लागेमा मुद्दाको कुनै पक्षले आवश्यक प्रमाण सहित कारबाही, सुनुवाई वा किनारा नगर्न निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन पर्न आएमा न्यायाधीशले मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्नुअघि त्यस्तो निवेदन दावी मनासिब भएको वा नभएको सम्बन्धमा निर्णय गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम निर्णय गर्दा निवेदन दावी मनासिब देखिएकोमा वा उपदफा (२) बमोजिम न्यायाधीश आपैmले मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्न नहुने आदेश गरेकोमा त्यस्तो मुद्दा सोही अदालतमा अर्को न्यायाधीश भए निज समक्ष र त्यस्तो न्यायाधीश नभएमा दफा ९६ को उपदफा (३) बमोजिम मुद्दा स्थानान्तरणको लागि सम्बन्धित पुनरावेदन सुन्ने अदालत समक्ष लेखी पठाउनु पर्नेछ ।